एजेन्सी ।
साउदी अरेबियाले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतवार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन् जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन। साउदी अरेबियाको गृह मन्त्रालयले आइतवार एक विज्ञप्ति निकालेर तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ। उनीहरूलाई आतङ्कवादलाई आर्थिक सहयोग गरेको र हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ ।अधिकारीहरूले आइतवार रियादमा मृत्युदण्डको सजाय सुनाएको मन्त्रालयले जनाएको छ। यस वर्ष ‘आतङ्कवाद’ का लागि सबैभन्दा बढी मृत्युदण्ड सुन्नी मुस्लिम राज्यको पूर्वी क्षेत्रमा भएको छ जहाँ शिया अल्पसङ्ख्यक समुदायको बाहुल्यता छ । गएको महिना साउदी अरेबियाले दुई जना बहराइनीलाई पनि आतङ्कवादसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिएको थियो ।
साउदी अरेबिया विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दिने देशमध्ये एक हो । गएको वर्ष साउदी अरेबियामा आतङ्कवादसँग सम्बन्धित अपराधमा एक सय ४७ जनालाई मृत्युदण्ड दिइएको थियो जसमध्ये ८१ जना एकै दिन मारिएका थिए । सामूहिक मृत्युदण्डको घटनाले अन्तर्राष्ट्रियस्तरमा आक्रोश उत्पन्न गरेको थियो। सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजार जनाभन्दा बढीलाई मृत्युदण्ड दिइएको बेलायतमा रहेको रिप्रिभ र युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्सले यसै वर्षको सुरुमा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ।