काठमाण्डौ ।
मनसुन भित्रिएसंगै पूर्वी क्षेत्रमा लगातारको वर्षाले क्षति गराएको छ । सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा बाढी पहिरोले ठूलो क्षति पुर्याएको हो । बर्षापछि आएको बाढीले सङ्खुवासभामा १६ जना बेपत्ता भएका छन । हेवा हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुरहरू सम्पर्कविहीन भएका हुन् । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ।
यस्तै निरन्तरको वर्षासँगै आएको बाढी पहिरो पाँचथर र ताप्लेजुङमा थप १० जना बेपत्ता छन् । पाँचथरको हेवा खोलामा आएको बाढीले फिदिम र फालेलुङमा गरी ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङको दोभान बजारका ५ वटा घर पहिरोको जोखिममा परेको बताईएको छ । मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि पूर्वतयारी गरिएको र यसमा पालिकाको मुख्य भूमिका हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले बताउनुभयो ।