काठमाडौँ ।
काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालय निर्वाध रूपमा सुचारु भएका छन् । सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै विद्यालय कर्मचारीहरूले आजदेखि सामुदायिक विद्यालय बन्द आह्वान गर्दै गर्दा काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालय भने खुला गरिएको छ। नेपाल विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेको थियो । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने र फौजदारी मुद्दा लगाउने चेतावनी दिनुभएको थियो ।मेयरको चेतावनीपछि महानगरभित्रका सामुदायिक विद्यालय खुला रहेका हुन् ।
काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै संस्था वा कर्मचारीहरूलाई पदबाट हटाइने, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिने चेतावनी महानगरले दिएको थियो ।




