काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (शनिबार) नेदरल्यान्ड्ससँग खेल्दैछ।
सुपर सिक्समा पुग्ने यात्रा कायम राख्न नेपालले नेदरल्यान्ड्सलाई हराउनैपर्छ। जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन्। दुवै टोलीले समान एक/एक जीत हासिल गरेका छन्।
जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन्। अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ। त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन्।
नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल सुपर सिक्समा पुग्ने बलियो सम्भावना रहन्छ। यस्तोमा नेदरल्यान्ड्सको खेल पनि कुर्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग खेल्दै छ। जसमा नेदरल्यान्ड्स हानुपर्ने हुन्छ।




