एजेन्सी ।
यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियासँग चेन्नईमा खेल्नेछ। ४६ दिने प्रतियोगिताका लागि १० सहरका रंगशाला छनोट गरिएको छ । यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यसअघि नै तय भइसकेका छन् । बाँकी दुई टोली को–को हुनेछन् भनेर छनोट खेल हुँदैछ । छनोट चरणको खेल जुलाई ९ मा सम्पन्न हुनेछ, त्यसपछि बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ। यो विश्वकप राउण्ड रोबिनको आधारमा खेलाइनेछ । सबै टोलीले एकअर्कासँग खेल खेल्नेछन्। त्यसपछि शीर्ष चार टोलीले नकआउट चरण र सेमिफाइनलका लागि छनोट हुनेछन्।