एजेन्सी
अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयमा जातीय आधारमा दिइँदै आएको आरक्षण खारेज गरेको छ । सन् १९६० को दशकदेखि अमेरिकी विश्वविद्यालयमा हुने भर्नामा सकारात्मक पहलका आधारमा आरक्षण कायम रहँदै आएकोमा सर्वोच्च अदालतले खारेज गरेको बीबीसीले जनाएको छ । अमेरिकी शिक्षा प्रणालीको सबैभन्दा विवादित बनेको यो विषयमाथिको एउटा मुद्दामा सर्वोच्चले फैसला गरेको हो। हार्वर्ड विश्वविद्यालय र युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको भर्नासम्बन्धी नियमविरुद्ध मुद्दा परेको हो । दुवै विश्वविद्यालयले अमेरिकाको संविधानमा उल्लिखित समान संरक्षणको प्रावधानलाई उल्लङ्घन गरेको अदालतले जनाएको छ। यी विश्वविद्यालयमा अमेरिकाको उच्च शिक्षामा अश्वेत, स्पेनीभाषी र अरू अल्पसङ्ख्यक विद्यार्थीको सहभागिता बढाउन आरक्षण लागू भएको थियो।
बहुप्रतीक्षित फैसलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले असहमति जनाउनुभएको छ। उहाँले अमेरिकामा अहिले पनि विभेद रहेको भन्दै आफूहरू यो निर्णयलाई अन्तिम हुन नदिने बताउनुभयो । यस्तै पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले भने यो निर्णय आएको दिनलाई ‘महान् दिन’ भनेर टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । अमेरिकाका नौ वटा राज्यले यसअघि नै जातीय आधारमा दिइएको भर्ना आरक्षण बन्द गरिसकेका छन।