भारत ।
भारतको राज्यसभा सांसद तथा दिग्गज अभिनेत्री जया बच्चनले मणिपुरबारे मिडियासँग कुराकानी गरेकी छिन् । उनले भनेकी छिन्, ‘मणिपुरको विषयमा विश्वभरिका मानिस चर्चा गरिरहेका छन् । हाम्रो आफ्नो देशमा भने यसबारे केही कुरा भइरहेको छैन । योभन्दा बढी म के भन्न सक्छु र ?’ जया बच्चन समाजवादी पार्टीकी सांसद हुन् । उनले पत्रकारसँगको कुराकानीमा भनिन्, ‘ यो लाजमर्दो कुरा हो। उनीहरू छलफल गर्न चाहँदैनन् । तपाईंले सदनभित्र जुन दुई राज्यको कुरा गरिरहनुभएको छ, त्यहाँ तपाईंका विपक्षीहरू सत्तामा छन् । तपाईंको राज्यमा के भइरहेको छ ।
उत्तर प्रदेश, मध्य प्रदेशमा के भइरहेको छ तपाईं भन्नुहोस् न । यिनीहरूको जे जति बाँकी छ, त्यो पनि रहँदैन ।’मणिपुरको मुद्दाबारे सोमबार भारतको संसद्को दुवै सदनमा हङ्गामा भयो । पछि सदनलाई मङ्गलवारसम्मका लागि स्थगित गरियो । लोकसभाका गृहमन्त्री अमित शाह आफू यसबारे चर्चाका लागि तयार भएको बताए । तर विपक्षका सांसदले भने लगातार नारा लगाइरहे । विपक्षी दलले प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको मुद्दाबारे संसद्मा आफ्नो धारणा राख्नुपर्ने माग गरिरहेका छन् ।
-एजेन्सी