एजेन्सी ।
पृथ्वीको पूर्वी–पश्चिमी भाग जोड्ने र समुन्द्री यातायात र परिवहनको घाँटी मानिएको स्वेज नहर क्षेत्रलाई इजिप्ट सरकारले थप व्यवस्थित बनाउने भएको छ ।इजिप्ट सरकारले बिहीवार स्वेज नहर आर्थिक क्षेत्रको लागि लगानी व्यवस्थापन गर्न ‘एस् सि जोन इस्थिमार’ भनिने संयुक्त स्टक कम्पनी स्थापना गर्न स्वेज नहर आर्थिक क्षेत्र प्राधिकरणलाई अधिकार दिएको हो । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले कम्पनी स्थापना गर्ने कदमलाई स्वीकृति दिनुभएको इजिप्ट सरकारले जनाएको छ । इजिप्टको राजपत्रमा प्रकाशित निर्णयअनुसार एससीजोन इस्थिमार अहिले र भविष्यको लगानी व्यवस्थापन गर्न र निजी क्षेत्रसँग संयुक्त विकासको परियोजना स्थापना गर्न रणनीतिक योजनाहरू निर्माण गर्ने जिम्मेवारी दिइएको छ । कम्पनीले एससीजोनको पूर्वाधार सञ्चालन गर्न स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य र साझेदारी गर्नसक्ने बताइएको छ । इजिप्ट सरकारले गत जुन महिनामा उद्योग र नौसेना सेवाको लगानीका लागि स्वेज नहर होल्डिङ कम्पनीलाइ निर्माणको जिम्मेवारी दिएको थियो । जसको मुख्यालय इस्माइलियामा छ । अगस्ट २०१५ मा स्थापित एस् सि जोन स्वेज नहर ४६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । स्वेज नहरको किनारमा छ वटा ठूला बन्दरगाह र चारवटा औद्योगिक विकास क्षेत्रहरू छन् । स्वेज नहर एक महत्ववपूर्ण व्यापार मार्गको रूपमा रहेको छ जसले विश्वव्यापी वाणिज्य र पेट्रोलियम पदार्थको व्यापारलाई सहज बनाउँछ ।
यसको अवरोधले विश्व व्यापारमा बाधा पुग्नेछ भने पेट्रोलियम पदार्थको मूल्यमा असर गर्छ । अन्तर्राष्ट्रिय व्यापारको लागि महत्वपूर्ण जीवनरेखाको रूपमा रहेको स्वेज नहरमा विश्व राजनीति पनि जोडिएको छ । मार्च २०२१, एभर गिभेन नामको ठूलो कन्टेनर जहाज स्वेज नहरमा फसेको थियो, जसले महत्वपूर्ण जलमार्गलाई लगभग एक हप्तासम्म अवरुद्ध गरेको थियो। जुन अवरोधले विश्व अर्थतन्त्रमा धेरै ठूलो नकारात्मक प्रभाव पारेको थियो । अवरोधले अर्बौं डलरको क्षति भएको अनुमान थियो । यसका अन्य अप्रत्यक्ष प्रभाव र दीर्घकालीन नकारात्मक परिणामहरूको अध्यायन भइरहेको छ । यसको सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताइन्छ ।