एजेन्सी ।
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाको तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ । जीतसँगै भारतले शृङ्खलामा पुनरागमन गरेको हो । यसअघि भएका दुईवटै खेलमा भारत पराजित भएको थियो । पाँच खेलको शृङ्खला अब २–१ को अवस्थामा पुगेको छ । मंगलबार भएको खेलमा वेस्ट इन्डिजले जीतका लागि प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य भारतले १३ बल बाँकी छँदै ३ विकेटको क्षतिमा पछ्यायो । भारतको जीतमा प्लेयर अफ द म्याच घोषित सूर्यकुमार यादव नायक बने। उनले मात्र ४४ बलमा ८३ रनको विस्फोटक पारी खेले । यसक्रममा उनले १० चौका र ४ छक्का हिर्काए ।
त्यस्तै, तिलक वर्माले नटआउट रहँदै ४९ र कप्तान हार्दिक पाण्ड्याले २० रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले २ तथा ओबेड म्याकोयले एक विकेट लिए । यसअघि ब्रान्डन किङको ४२ रनको मद्दतले वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । कप्तान रोभमान पावेलले नटआउट रहँदै मात्र १९ बलमा ४० रन बनाए । त्यस्तै, कायल मायर्सले २५ रनको योगदान दिएका थिए । भारतका लागि कूलदीप यादवले ३ तथा अक्षर पटेल र मुकेश कुमारले १–१ विकेट लिए ।




