कञ्चन ।
नेपाल आदिवासी जनजाती महासंघ ओमसतिया रुपन्देहीले ठुटिपिपलको मगर भवनमा एक कार्यक्रमगरी २९ औं विश्व आदिवासी दिवस मनाएको छ। कार्यक्रममा शुभकामना ब्यक्त गर्दै ओमसतिया गाउँपालिका उपाध्यक्ष तथा आदिवासी जनजाति महासंघका अध्यक्ष सुनिता चौधरीले गाउँपालिकाले आदिवासी जनजातिको लागि बजेट विनियोजन भएको बताउनु भयो ।आगामी वर्षमा कसरी जादा सजिलो हुन्छ भन्ने कुराको थप सुझावको अपेक्षा गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाको उपाध्यक्ष भएको हुँदा अब आदिवासी जनजाती महासंघ ओमसतियाको अध्यक्षको जिम्मेवारीमा बस्न नसक्ने र छिट्टै नयाँ कार्य समितिको लागि अधिवेशन गर्ने जानकारी दिनु भएको छ।
कार्यक्रममा आदिवासी जनजाती महासंघ रुपन्देहीका सल्लाहकार शंकर गाहा मगरले विश्व आदिवासी दिवस रुपन्देहीको विभिन्न ८ वटा पालिकामा एकै पटक कार्यक्रम भएको जानकारी दिनु भएको छ। भाषा , कला संस्कृति जगेर्ना गर्ने र सबै आदिवासी एक हुनुको कुनै बिकल्प नभएको सल्हाकार गाहाले बताउनु भयो। यसैगरी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम बहादुर तमुले केही समय अघि मिडियामा अधिवक्ता भगवती पाण्डे शित्तलले दिएको अभिव्यक्तिले तामाङ र मगर समुदायमा दाजु बहिनी बीच बिहे हुने र यिनिहरुबाट जन्मिएका बच्चा अपराधी सोंचको हुने भन्ने दिएको अभिव्यक्ति प्रती घोर भत्सर्ना गर्दै सरकारले कार्वाही नगरे फेरि रुपन्देहीका आदिवासी जनजाति आन्दोलनमा उत्रिनु पर्ने बताउनु भयो।
यसै गरि थारु कल्याणकारी सभाका सचीव सरिता चौधरीले आदिवासी जनजातिको चरीत्र हत्या गर्ने काम पनि भैइरहेको प्रति आपत्ती जनाउनु भयो। कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज का केन्द्रिय उपाध्यक्ष सरु राना ,नेपाल मगर महिला संघ प्रदेश सदस्य सरस्वती हिस्की, ओमसतिया वडा न २ का अध्यक्ष शित्तल जि टि , वडा न ३ का अध्यक्ष प्रकाश सिं चौधरी , आदिवासी जनजाती महिला संघ का सह सचीव जमुना भुजेल ,नेपाल मगर संघ ओमसतियाका अध्यक्ष दिपक सिं सर्वुजा,थारु कल्याणकारी सभा ओमसतियाका अध्यक्ष दिल बहादुर चौधरी लगायतले अबको दिनमा आदिवासी जनजाती एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो।
नेपाल आदिवासी जनजाति महासंघ ओमसतियाका अध्यक्ष सुनिता चौधरीको अध्यक्षता, नेपाल आदिवासी जनजाती महासंघ ओमसतियाको उपाध्यक्ष रिखा बहादुर रानाको स्वागत र सचीव निलम चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




