बुटवल ।
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नाग टाँसेर मनाईँएको छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । आजको दिन १२ वटा नागहरू अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गलाको पूजा अर्चना गरिन्छ। हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन्, श्रावण शुक्ल पञ्चमी अर्थात आज सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको छ ।
नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो । आज देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।