एजेन्सी ।
पाकिस्तानमा एउटा नदीमाथि आकाशमा झुन्डिरहेको केबलकारबाट दुई जना बालकको १० घण्टापछि उद्धार भएको पाकिस्तानी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै बालकको स्वास्थ्य अवस्था सामान्य छ । केबलकारमा रहेका पाँच विद्यार्थी र एक शिक्षकलाई पनि उद्धार गर्ने प्रयास भइरहेको पाकिस्तानी प्रहरीले जनाएको छ । केबलकारमा छ जना बालबालिकासहित आठ जना रहेका थिए । ती बालबालिका विद्यालय जान केबलकार चढेका हुन् । तर एउटा तार चुँडिएपछि केबलकार जमिनभन्दा दुई सय ७४ मिटरमाथि झुन्डिरहेको छ ।
उद्धारका लागि केबलकार नजिक सेनाका हेलिकप्टरहरू पुगे पनि तीव्र गतिको हावाका कारण समयमा उद्धार हुन सकेको थिएन । हेलिकप्टरका पङ्खाले केबलकारलाई अस्थिर बनाउन सक्ने चिन्ता पनि देखिएको उद्धार कार्यमा संलग्न एक अधिकारीले बताएका बीबीसीले जनाएको छ । उत्तरी पाकिस्तानका दुर्गम पहाडी गाउँहरूमा केबलकार नियमित यात्रा गर्ने साधन बनेको छ ।