कञ्चन।
नेपाल रेडक्रस सोसाईटी कञ्चन उपशाखा अन्तर्गत जुनियर रेडक्रस सर्कलका शिक्षक नायकहरुको बैठक सम्पन्न भएको छ। बैठकले यही भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको अवसरमा आयोजना हुने जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिताको भदौ १५ गते उपशाखा स्तरिय छनौट प्रतियोगिता संचालन गर्ने निर्णय गरेको छ।
हिमालय आधारभुत विद्यालयको आतिथ्यतामा संचालन हुने उपशाखा स्तरिय छनौट प्रतियोगिताको लागि विद्यालयस्तरिय छनौट प्रतियोगिता यही भदौ १३ गते भित्र सबै बिद्यालयहरुले सम्पन्न गरी विजेता विधार्थीहरुको नामावली उपशाखामा पठाउनु पर्ने बैठकले निर्णय गरेको छ। यसैगरी जुनियर सर्कल पुनर्गठन नभएका बिद्यालयहरुमा सर्कल पुनर्गठन गर्ने र डेंगु नियन्त्रण सम्बन्धी सचेतना सहित बिद्यालय वरीपरी सरसफाई कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका सचिव तुल बहादुर थापाले जानकारी दिनु भएको छ।
उपशाखा सभापति गंगालाल पौडेलको सभापतित्वमा सम्पन्न बैठकमा नेपाल रेडक्रस सोसाइटी बर्तमान अवस्थाबारे सचिव तुल बहादुर थापाले सहजिकरण गर्नु भएको थियो। बैठक उपशाखाको कार्यालय कञ्चन ३ हर्नाचौरमा भएको थियो।




