काठमाण्डौ ।
सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले प्रतिनिधि सभामा दर्ता गरेको विधेयकमा विद्यालय तह स्थापना, सञ्चालन र तह थपको अनुमति दिने अधिकार पालिकालाई दिइएको छ । विधेयकमा सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएकोमा नयाँ विधेयकमा एसईई खारेजको प्रस्ताव गरेको हो । अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने छ।
कक्षा आठको परीक्षा पालिकाबाट तथा कक्षा ९, १० र ११ को परीक्षा विद्यालयले नै लिने प्रस्ताव छ । यस्तै पालिकाले आफू अन्तर्गतका एउटा विद्यालयबाट अर्को विद्यालयमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था पनि विधेयकमा छ । विधेयकमा सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापक प्रतिस्पर्धाबाट छनोट गर्ने प्रस्ताव गरेको छ ।