आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाएका छन । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गरि यो पर्व मनाउने गर्दछन ।
आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ । गणेशको पूजा गरी मनाइने गणेश चतुर्थी पर्व पनि आजै मनाइँएको छ । हरेक वर्ष भाद्रशुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ ।