एजेन्सी । खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको बताएको छ ।
नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलविद्युत् उत्पादनको गिरावटले बिद्युतीय सङ्क्रमणको गतिलाई नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको बताएको छ । यस वर्षको जुनसम्ममा विश्वव्यापी जलविद्युत् उत्पादन आठ दशमलव पाँच प्रतिशतले गिरावट भएको उल्लेख गरेको छ । यो पछिल्लो दुई दशकमा कुनै पनि पूर्ण वर्षमा भएको गिरावट भन्दा बढी हो । उक्त गिरावटको तीन चौथाइ चीनमा भएको गिरावटको परिणाम हो ।
बेइजिङको आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार सन् २०२२ को शरद र सन् २०२३ को गर्मीयामको बीचमा चीनमा सामान्य वर्षको तुलनामा उल्लेखनीयरूपमा कम पानी परेको थियो भने तापक्रम पनि उच्च भएको थियो ।
विश्वव्यापीरूपमा सौर्य ऊर्जा र वायु शक्ति १२ प्रतिशतले बढेको भए पनि जलविद्युत् उत्पादनमा भएको कमीले सन् २०२३ को पहिलो छ महिनामा कार्बन उत्सर्जन थोरैले वृद्धि भएको छ ।
विद्युत्को मागमा न्यून वृद्धिले अन्यथा हुनसक्ने अवस्थाभन्दा कार्बन उत्सर्जनमा हुने वृद्धिलाई कम राख्न सहयोग गरेको एम्बरले जारी बिहीबार जारी गरेको प्रतिवेदनमा भनिएको छ ।
तर चीनमा जलविद्युत्को उत्पादनमा आएको कमीका कारण कार्बन उत्सर्जन झण्डै आठ प्रतिशतले बढेको छ । एम्बरले जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी र खडेरीको अवस्थाले यो वर्षको जलविद्युत् उत्पादनमा कमी आएको हुनसक्ने बताएको छ । उसले भविष्यका प्रभावहरूको गणना गर्न कठिन हुने चेतावनीसमेत दिएको छ । एम्बरले जलविद्युत् उत्पादनको सम्भावनामा जलवायु परिवर्तनको परिणामहरू भौगोलिक आधारमा भिन्न रहेको उल्लेख गरेको छ ।
“वर्षाको ढाँचा र तीव्रतामा आएको परिवर्तनका साथै वाष्पीकरणमा भएको वृद्धिले क्षेत्रगत आधारमा जलविद्युत् उत्पादनमा सकारात्मक र नकारात्मक दुवैरूपमा असर गर्नेछ”, प्रतिवेदनमा भनिएको छ ।
मध्य अफ्रिका, भारत, मध्य एसिया र उत्तरी उच्च अक्षांश भएका केही क्षेत्रमा जलविद्युत् उत्पादन क्षमतामा वृद्धि देखिनसक्छ । तर दक्षिणी युरोप, दक्षिणी अमेरिकी र अन्य स्थानमा जलविद्युत् उत्पादन कमजोर हुने सम्भावना छ ।
यस वर्षको राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (कोप) को बैठकमा कोपका प्रमुखले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा विश्वव्यापीरूपमा तीन गुणाले बढाउन आह्वान गरेका थिए । साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गत महिना सन् २०३० सम्ममा जीवाश्म इन्धनको माग उच्च हुने प्रक्षेपण गरेको थियो ।
तर गत वर्षको पहिलो छ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा वायु शक्ति र सौय ऊर्जाको उत्पादन अत्यन्त सुस्त गतिमा भएको छ जसले ऊर्जा क्षेत्रमा लाभको कमजोरीलाई प्रतिबिम्बित गरेको छ ।