काठमाडौं । सरकारले आज शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । नेपालीहरूको महान् पर्व वडा दशैंमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरिएको हो ।
रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहनेछ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाध रूपमा जान पाउने भएका छन् । प्रत्येक वर्ष काठमाडौंबाट दशैं मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो जन्मस्थल जाने गरेका छन् ।




