काठमाडौं । आज नवलपुर र चितवन आसपासका थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाएका छन । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिकरुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउने गर्दछन ।
लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारुहरुले सामूहिकरुपमा नै पर्व मनाउन लागेको थारु कल्याणकारिणीसभापति ललित चौधरीले बताउनुभयो । आदिमकालदेखि यहाँ थारु समुदायले मनाउने सांस्कृतिक विविधता रहेको यमोसा पर्वमा स्थानीय बिदाको माग गरेका छन् ।
यमोसा पर्व नवलपुर र चितवनका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो । यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिले पितृलाई तर्पण दिने गर्दछन् । यमोसा पर्व सोह्र श्राद्धको औँसीमा पर्ने भएकाले यस पर्वलाई थारु समुदायका व्यक्तिले पितृ औँसी पनि भन्ने गर्दछन् । दसैँको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । वर्षभरिमा यदि परिवारमा सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा ‘बरखी’ समापन गर्ने गरिन्छ ।