काठमाडौं ।
इजरायलमा ज्यान गुमाएका थप दुई जना नेपालीको शव पहिचान भएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणका क्रममा ज्यान गुमाएका २ जना नेपालीको शव पहिचान गरिएको राजदूतावासले प्रेस विज्ञप्ति निकालेर जानकारी गराएको हो । योसहित ज्यान गुमाउने दश जनाकै पहिचान खुलेको छ ।
राजदूतावासका अनुसार हिजो सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो ।
राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ । त्यस्तै, सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी जारी रहेको पनि राजदूतावासले जनाएको छ ।