काठमाडौं ।
विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोली मंगलबार घरेलु मैदानमा खेलिएको खेलमा यमनसँग २—० गोलले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको नेपाल र यमनबिचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो भने प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा नेपालले दुबै गोल खाएको थियो ।
सन् २०२६ मा आयोजना हुने विश्वकपको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा नेपाली टोली समूह ‘एच’ मा परेको छ । उक्त समूहमा नेपाल र यमनसँगै संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइन पनि रहेका छन्। यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली यूएईसँग ०—४ गोलले पराजित भएको थियो । उक्त खेल यूएईको घरेलु मैदानमा खेलिएको थियो ।