सिलेट । न्युजिल्याण्डविरुद्धको दुई टेस्टको शृङ्खलाको पहिलो खेलमा बंगलादेशले जित हात पारेको छ । सिलेटमा जारी खेलमा बंगलादेशले न्युजिल्याण्डलाई १५० रनले पराजित गरेको हो । घरेलु मैदानमा न्युजिल्याण्डविरुद्धको टेस्टमा बंगलादेशको यो पहिलो जित हो। बंगलादेशी टोली पछिल्लो २४ महिनामा दोस्रो पटक न्यूजिल्याण्डविरुद्धको टेष्ट खेल जित्न सफल भएको छ ।
यसअघि गत वर्ष बंगलादेशले न्यूजिल्याण्डलाई उसैको घरेलु मैदानमा ८ विकेटले पराजित गरेको थियो । दुई टेष्टको शृंखला १–१ को बराबरीमा सकिएको थियो। चौथो दिनको खेल समाप्त हुँदा न्युजिल्याण्डले ४९ ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । अन्तिम दिन न्युजिल्याण्डलाई जितका लागि २ सय १८ रन आवश्यक थियो । बंगलादेशलाई जितका लागि ३ विकेट चाहिएको थियो । तर न्युजिल्याण्डको टोली १८१ रनमा सीमित बन्यो ।
न्युजिल्याण्डका लागि डेरल मिचेलले ५८ रन बनाए भने कप्तान टिम साउथीले ३४ रनको योगदान दिए । बंगलादेशका लागि तइजुल इस्लामले ६ विकेट लिँदै न्युजिल्याण्डको पाली ध्वस्त बनाए । नयिम हसनले २ विकेट लिए । यसअघि बंगलादेशले पहिलो इनिङ्समा ३१० रन र दोस्रो इनिङ्समा ३३८ रन बनाएको थियो । न्युजिल्याण्डले पहिलो इनिङ्समा ३१७ रन मात्रै बनाउन सकेको थियो । एजेन्सी ।