चितवन ।
सौराहामा हात्ती महोत्सव चार वर्षपछि पुनः शुरु गर्न लागिएको छ । कोरोनाको कारण सन् २०१८ मा महोत्सव भएपछि महोत्सव संचालन हुन सकेको थिएन । यस वर्ष भने हात्ती महोत्सव गर्न लागिएको हो ।
क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आउँदाे पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।
हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेका अनुसार लामो समयदेखि रोकिएको महोत्सव यसपटकदेखि नयाँ ढङ्गले गर्न लागेको बताउनुभयो । महोत्सवका लागि सरोकारवालासँग छलफल शुरु गरिएको छ । हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गरेर अघिल्ला महोत्सवभन्दा यसपटक फरक बनाउन खोजिएको उहाँले बताउनुभयो ।