एजेन्सी ।
बलिउडका किंग खान शाहरुख खानको फिल्म डङ्कीले पहिलो दिनमा ३० करोड भारु कलेक्शन गरेको छ । शाहरुखको पछिल्ला फिल्मको रेकर्ड हेर्दा डंकीको शुरुआत निकै कमजोर रहेको छ । यसअघि यही वर्ष रिलिज भएका पठान र जवान दुबैको ओपनिङ बम्पर थियो । जवानले भारतीय बक्स अफिसमा पहिलो दिन ७५ करोड भारु कमाउँदा पठानको कमाई ५७ करोड भारु थियो । शुक्रबारदेखि सोमबारको बिचमा भने डंकीको कलेक्शनमा वृद्धि हुने आशा गरिएको छ । फिल्म बिहिबार रिलिज भएको थियो।
शाहरुख खानको पछिल्ला पाँच फिल्मको ट्रेन्ड हेर्ने हो भने डंकी तेस्रो ठूलो ओपनर हो । यसले जेरो, रइस र जब ह्यारी मेट सेजल जस्ता कयौं फिल्मको रेकर्डलाई तोडेको छ । जिरोले भारतमा पहिलो दिन १९ करोड ३५ लाख भारुको कलेक्शन गरेको थियो । घरेलु बक्स अफिसमा जब ह्यारी मेट सेजलले १५ करोड २५ लाख भारु कमायो। तर डंकी पठान र जवानभन्दा चाँहि पछाडि रह्यो।
डंकीको रिलिज पूरै तयारीको साथमा बिहिबार भएको थियो । राजकुमार इरानीको निर्देशनमा बनेको यो फिल्ममा भारतमा १५ हजारभन्दा धेरै शो दिइएको छ । कुनै पनि फिल्मले यति धेरै शोज पाएको छैन । बैंगलुरुमा ८ सय भन्दा धेरै शोज पाउने शाखरुख एक मात्रै कलाकार हुन् । पठान, जवान र डंकी तीनओटै फिल्मले ८ सय भन्दा धेरै शोज पाए ।
डंकी एक्शन ड्रामा होइन । यो कमेडी जान्राको फिल्म हो । फिल्म रिलिजको दिन सार्वजनिक छुट्टी पनि थिएन । यति हुँदा पनि फिल्मको एड्भान्स बूकिङ १५ करोड ४२ लाख भारु थियो । यसलाई राम्रै बताउँछन् ट्रेड एक्सपर्टहरु । फिल्म शानदार भएर पनि दर्शकहरुबाट यसले मिश्रीत प्रतिक्रिया पाइरहेको बताइएको छ । यसको असर फिल्मको समग्र कलेक्शनमा देखिनेछ ।
डंकी प्रभासको सालारसँग जुध्दैंछ । प्रभासको यसअघिको फिल्म हिट भएन । तर फ्लप फिल्मले पनि पहिलो दिनमा १ अर्ब ४० करोड भारुको कलेक्शन गरेको थियो । डंकी हिन्दी भाषामा मात्रै रिलिज गरिएको छ । त्यसैले यसको तुलना सालारको हिन्दी भर्जनसँग मात्रै गर्दा उपर्युक्त हुन्छ । हिन्दीमा सालारको एड्भान्स बूकिङ साढे ३ करोड भारु थियो । भारतमा सालारको ओपनिङ कलेक्शन १ अर्ब भारुभन्दा धेरै हुने आशा गरिएको छ ।