बुटवल ।
उच्च सरकारी वकिल कार्यालय बुटवलले शुक्रर शिक्षक विद्यार्थीहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।सरकारी वकिल कार्यालयको काम कारबाही, शिक्षक विद्यार्थीहरुसँगको सहकार्य, कानुनी ज्ञान लगायतका विषयमा सरकारी वकिल कार्यालयले अन्तरकृया गरेको हो । समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत अन्तरकृया गरिएको हो ।
त्यस अवसरमा सरकारी वकिलको सांगठनिक संरचना, काम कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व विषयमा जानकारी गराइएको थियो । बुटवल-११ स्थित नविन औद्योगिक कद्दरबहादुर रीता रायमाझी विद्यालयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका सहन्यायाधिवक्ता गोविन्दराज गौलीले कार्यालयले सम्पादन गर्दै आइरहेका काम, सांगठनिक संरचना र कानुनी प्रावधानबारे जानकारी गराउनु भएकाे थियाे ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र श्रेत्रीले शिक्षक विद्यार्थीहरुका लागि कानुनी ज्ञान अपरिहार्य रहेको भन्दै यस्ता कार्यक्रमले प्रभावकारी उपलव्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका उप-न्यायाधिवक्ता रवि न्यौपानेले “सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व“ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।
करीव १६ जना सहभागीहरुबाट सरकारी वकील र सरकारवादी मुद्दा सम्वन्धमा उठाईएका जिज्ञासाहरुको उच्च सरकारी वकील कार्यालय बुटवलका सह-न्यायाधिवक्ता गोविन्दराज गौली, उपन्यायाधिवक्ता रवि न्यौपाने र कानुनी सहायता अधिकृत विष्णु भुषालले विभिन्न रोचक उदाहरणहरु सहित जिज्ञासालाई सम्वोधन गर्नुभएकाे थियाे ।
कार्यक्रममा सहभागी विद्यार्थीको तर्फबाट कानून संकाय कक्षा १२ मा अध्ययनरत विद्यार्थी रुक्सा अर्याल, सोही समूहको कक्षा १२ मा अध्ययनरत विद्यार्थी एवं नविन विद्यार्थी क्लवका अध्यक्ष अमिसन थापा, कानून समूहका ईन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल, विद्यालयका प्राधानाध्यापक प्रेम बहादुर बस्नेत, उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्यूटर अपरेटर बुद्धि पराजुली लगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




