काठमाण्डाै ।
चितवनमा आजदेखि हात्ती महोत्सव शुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि यही पुस १४ गतेसम्म ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना गरिएको हो । होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संरक्षण संस्था र रेष्टुरेन्ट एन्ड बार एसोसिएशनको सह–आयोजनामा १७औँ संस्करणको महोत्सव संचालन गरिएको हो ।
सङ्घका अनुसार महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका रहेको छ । महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ । महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित देशकै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ।