काठमाडौं ।
यो वर्ष विश्व बजारमा कच्चा तेलको भाउ दोहोरो अंकले घटेको छ । यो वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ झन्डै ११ प्रतिशतले घटेको हो । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) बाहिरबाट कीर्तिमानी स्तरमा तेल उत्पादन भएपछि बजारमा चाहिने भन्दा धेरै आपूर्तिको समस्या देखिने चिन्ताले बजार बियरिस बनेको समाचारमा उल्लेख छ ।
शुक्रबार अर्थात् यो वर्षको अन्तिम दिनको कारोबार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा फेब्रुअरी डेलिभरीको वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ शून्य दशमलव १७ प्रतिशतले घटेर प्रतिब्यारेल ७१ डलर ६५ सेन्टमा आएको थियो । लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा मार्च डेलिभरीको ब्रेन्ट क्रुडको भाउ पनि शून्य दशमलव १४ प्रतिशतले घटेर ७७ डलर शून्य ४ सेन्टमा ओर्लियो । यो वर्ष यूएस क्रुडको भाउ सन् २०२० यता पहिलो पटक घटेको छ ।
गाजामा विध्वंसकारी युद्धका कारण मध्य पूर्वमा तनाव जारी रहँदा भूराजनीतिक जोखिम चुलिएको छ । यस्तोमा पनि तेलको भाउ भने सन् २०२३ मा घट्यो । यो वर्षको शुक्रबारसम्मको अवधिमा डब्ल्यूटीआईको भाउ १० दशमलव ७३ प्रतिशतले घटेको छ । ब्रेन्टको भाउमा पनि १० दशमलव ३२ प्रतिशतको कमी देखिएको छ । लाल सागरबाट सामान ढुवानी गर्ने जहाजहरूमा आक्रमणपछि विश्वको व्यापार अनि कच्चा तेलको आपूर्तिमा अवरोध उत्पन्न हुने चिन्तामा मंगलबार भने कच्चा तेलको भाउ झन्डै ३ प्रतिशतले बढे । मध्य पूर्वमा युद्ध भड्किने आशंकाले पनि तेलको भाउमा केही वृद्धि गराएको थियो ।
एजेन्सी ।