बुटवल ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम शुरु गरेको छ । रोहिणी गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सम्झौता भएको छ । सम्झौताअनुसार रोहिणीअन्तर्गतका स्वास्थ्य संस्थामा र स्वास्थ्य संस्थाले सिफारिस गरेकामध्ये छोरी जन्मिएकालाई यो बीमा योजनामा आबद्ध गराइने उल्लेख छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गाउँपालिका अध्यक्ष बालिका संरक्षण अभियानअन्तर्गत बालिका बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले बालिका बीमा कार्यक्रमले बालिकाको उच्च शिक्षामा मात्र नभइ बालविवाह अन्त्य, घरमै सुत्केरी गराउने प्रचलनलाई स्वास्थ्य संस्थामा गराउन प्रोत्साहन गर्ने बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले चालु आर्थिक वर्षमा बालिका बीमा कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले आव २०७९/८० र २०८०/८१ मा एक सय ९० जना बालिका रोहिणी गाउँपालिकामा जन्मिएका र मापदण्डमा पर्ने बालिकाको बीमा गरिने बताउनुभयो । उहाँले आउँदाे वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।