काठमाण्डौ ।
आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेट खेल्न जाने युवा टाेलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिदाइ गरेकाे छ । आज शुक्रवार काठमाण्डाैमा आयाेजित एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले टाेलीलाई बिदाइ गरेका हुन।
क्यानले दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको विश्वकपका हिजाे बिहीवार देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियाे । क्यानले एसीसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोलीको घोषणा गरेको हो ।
जनवरी १९ अर्थात् आउँदो माघ ५ गतेदेखि शुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।