रुपन्देही ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ मा रहेको श्री सन्दिप आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आईतबार विद्यालय परिसरमा कार्यक्रमको आयोजना गरि रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहले ६५ जना विद्यार्थिलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो।बढ्दो चिसोका कारण विद्यार्थीहरुमा समस्या नहोस भन्ने उद्देश्यका साथ न्यानोे कपडा (ट्र्याक सुट) वितरण गरिएको संस्थाका अध्यक्ष विक्रम भुषालले बताउनुभयो ।
वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहन जिसीले रोट्रऱ्याक्ट क्लबले विगत लामो समय देखी सामाजिक कार्य गर्दै आईरहेको र उपलब्ध गराएको ट्रयाक सुटले बालबालिकालाई चिसो मौसममा राहत पुगेको भन्दै आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियोे । विद्यार्थीलाइ न्यानो कपडा उपलब्ध गराएकोमा विद्यालयका प्रधानाध्यापक दुर्गा लाल तिवारीले धन्यवाद दिँदै यस्ता राहत स्वरुपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। सो कार्यक्रममा सामाजसेवी जागेश्वर काफ्ले, रोट्रऱ्याक्टर सुनिल गिरी लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर पौडेल, रोट्रऱ्याक्टर रमेश पन्थि, वडा सदस्य चमाकान्त गौडेल, पुर्व वडा सदस्य खैराज शर्मा, समाजसेवी जगन्नाथ अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम क्लबका अध्यक्ष विक्रम भुषालको अध्यक्षता, वर्ष २४/२५ का ईलेक्ट प्रेशिडेन्ट सन्दिप पौडेलको स्वागत र कमल थापाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण किशन थापा दर्लामीले गर्नुभएको थियो।