देवदह ।
देवदह नगरपालिकाको तेह्राै नगर सभा-२०८० अन्तरगतकाे पहिलाे बैठक सम्पन्न भएको छ । नगर प्रमुख धुव्रप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको तेह्राै नगर सभाको प्रथम बैठकले बाह्राैं नगर सभाले पारित गरेको योजना शंसोधन गरेको हो ।
बैठकले वडाअध्यक्षहरुले विविध विषयमा राखेको बजेटलाई समेत योजनामा रुपान्तरण गर्दै पारित गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को लागि बाह्राैं नगर सभाबाट पारित गरिएको ८१ लख ५० हजार बरावरको योजनाको शिर्षक संशोधन गरिएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभयो । नगर सभामा संशोधित योजना नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले प्रस्तुत गर्नु भएको थियो । बाह्राैं नगर सभाबाट पारित गरिएको योजनाहरु समयमै सम्पन्न गर्ने गरी योजनाको शिर्षक परिवर्तन गरिएको जानकारी दिनु भयो ।
नगर सभाको बैठकले केही योजनाहरुको रकमान्तर गरिएको छ । यता नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सभा सदस्यहरुले भने तेह्राै नगर सभा बहिष्कार गरेको छ । नगर सभामा गणपुरक संख्या पुगेपनि नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित नगर सभा सदस्यहरुले तेह्राै नगर सभा बहिष्कार गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिनु भयो ।
कार्यपालिका बैठकमा नगर खेलकुद विकास समितिको संयोजक तोक्ने विषयलाई लिएर नगर सभा बहिष्कार गरेको उहाले जानकारी दिनु भयो । नगरपालिकाका अधिकृत गंगाप्रसाद पन्थीको संचालनमा प्रथम बैठक सम्पन्न भएको हो ।