नयाँ दिल्ली ।
भारतविरुद्धको टी–२० क्रिकेट शृंखलामा अफगानिस्तानका रासिद खान सहभागी नहुने भएका छन् । भारतले अफगानिस्तानसँग तीन खेलको टी–२० शृंखला खेल्ने कार्यक्रम रहेको छ । स्वास्थ्य समस्याका कारण उनले भारतविरुद्धको शृंखला गुमाउने भएका हुन्।
केही समयअघि उनको ढाडको शल्यक्रिया गरिएको थियो। अफगानिस्तानका कप्तान इब्राहिम जदरानले टोलीसँगै भारत भ्रमणमा आए पनि रासिद खानले स्वास्थ्य समस्याका कारण शृंखला भने नखेल्ने जानकारी दिएका छन् । गत अक्टोबर–नोभेम्बरमा भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपछि रासिद खान मैदानमा देखा परेका छैनन् ।
उनले हालै सम्पन्न संयुक्त अबर इमिरेट्सविरुद्धको टी–२० शृंखला पनि गुमाएका थिए । उक्त शृंखलामा अफगानिस्तान २–१ ले विजयी भएको थियो । रासिदको अनुपस्थितिमा भारतविरुद्धको शृंखलामा स्पिन बलिङको जिम्मेबारी मजिब उर रहमान, मोहम्मद नाबी, नुर अहमद, क्वाइस अहमद र सराफुद्दिन असरफले समाल्ने छन् ।
संयुक्त अरब इमिरेट्सविरुद्धको शृंखलामा पनि रासिदको अनुपस्थितिमा लेगस्पिनको जिम्मेबारी क्वाइसले निर्वाह गरेका थिए । उक्त शृंखलामा क्वाइस सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनले शृंखलामा ६ विकेट हात पारेका थिए ।