काठमाडौं ।
भारतीय शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार भारतकाे शेयर बजारमा धेरै शेयर किनबेच भएका छन्। साताको अन्तिम कारोबार दिन, बीएसई सेन्सेक्स बेन्चमार्क पहिलो पटक ७२,७२०.९६ विन्दुमा पुगेकाे छ। यसैगरी,आज निफ्टी पनि पहिलो पटक २१,९०० विन्दुको स्तर पार गर्दै २१,९२८.२५ को विन्दुमा पुगेको छ ।
शुक्रबारको कारोबार सत्रमा आईटी र पीएसयू बैंकिङ क्षेत्रको शेयरमा राम्रो किनबेच देखिएकाे थियाे । यी क्षेत्रहरू आज टप गेनर बनेका थिए।
साताको अन्तिम कारोबार दिनमा बीएसईको ३० शेयरवाला सेन्सेक्स ८४७.२७ अंक वा १.१८ प्रतिशतले बढेर ७२,५६८.४५ विन्दुमा बन्द भएकाे छ। अर्कोतर्फ, एनएसईको ५० शेयरको निफ्टी सूचकांक २४७.३५ अंक वा १.१४५ प्रतिशतले बढेर २१,८९४.५५ विन्दुमा पुगेकाे छ।
शुक्रबार, डलरकाे तुलनामा रुपैयाँ ११ पैसाले बलियो भयाे र डलरको तुलनामा ८२.९२ विन्दुमा बन्द भयो।
इन्फोसिस र टीसीएसको शेयरमा बढाेत्तरी
सेन्सेक्सका कम्पनीहरुमध्ये, डिसेम्बरकाे त्रैमासिक रिपाेर्टबाट बजारले गरेकाे अपेक्षाका कारण इन्फोसिसको शेयरमा करिब ८ प्रतिशतकाे उछाल देखियाे। भारतको सबैभन्दा ठूलो सफ्टवेयर निर्यातक टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस)को शुद्ध आम्दानी डिसेम्बर त्रैमासमा ८.२ प्रतिशतले बढेर ११,७३५ करोड भारतीय रुपैयाँ पुगेको छ। त्यसपछि कम्पनीको शेयरमूल्य चार प्रतिशतले बढेको हाे ।
अन्य प्रमुख बढेकामध्ये टेक महिन्द्रा, विप्रो, एचसीएल टेक्नोलोजी र स्टेट बैंक अफ इन्डिया पर्छन्। पावर ग्रिड, बजाज फिनसर्भ, अल्ट्राटेक सिमेन्ट र एचडीएफसी बैंकको शेयरमा गिरावट देखिएको छ । बीएसईको सूचना प्रविधि (आईटी) सूचकांक क्षेत्रीय सूचकांकहरूमध्ये सबैभन्दा उच्च विन्दु भएर ४.९९ प्रतिशतले बढ्यो ।
शेयर बजारको तथ्यांकअनुसार बिहीबार विदेशी संस्थागत लगानीकर्ताले ८६५ करोड भारतीय रुपैयाँको शेयर बिक्री गरेका छन् ।
बम्बई स्टक एक्सचेन्ज सेन्सेक्स बिहीबार अथवा हिजाे ६३.४७ अंक वा ०.०९ प्रतिशतले बढेर ७१,७२१.१८ विन्दुमा बन्द भएकाे थियाे । त्यसैगरी, नेशनल स्टक एक्सचेन्जको निफ्टी पनि २८.५० अंक वा ०.१३ प्रतिशतले बढेर २१,६४७.२० अंकमा बन्द भएकाे थियाे ।
एजेन्सी ।