एजेन्सी ।
जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा बेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्गलबारसम्म तीव्र हावाहुरी, हिमपात र उच्च छालआउने सम्भावना रहेको छ । भूकम्प प्रभावित होकुरिकु क्षेत्र र निगाता प्रान्तमा आइतबार ७२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ ।
यसैबीच जनवरी १ मा गएको शक्तिशाली भूकम्पपछि देशको सात तहको प्रणालीमा एक वा सोभन्दा बढी को तीव्रताका भूकम्पका झट्का शनिबार अपराह्न ४ बजेसम्ममा एक हजार ३६८ पटक मापन गरिएको जेएमएले जनाएको छ ।