रुपन्देही // रुपन्देहीको देवदहमा बालबालिका तथा किशोर किशोरीहरुलाई महिनावारी स्वास्थ्य तथा सरसफाई व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । सोइया महिला स्वावलम्बी संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
तालिमको पहिलो दिन भविश्य निर्माण मा.वि, सरस्वती मा.वि., खड्ग मा.वि., प्रगति मा.वि.मा गठित बाल क्लबका पदाधीकारी र केराबारी किसोरी समूहका प्रतिनिधीहरु गरी ५६ जना बालबालिकाको सहभागिता रहेको थियोे। त्यस्तै दोश्रो दिन महामाया भवनी मा.विको सभाहलमा भएको कार्यक्रममा भवानी किशोरी समुह, सोइया किशोरी समुह, देवदह किशोर समुह र सृष्टि युवति समुहका प्रतिनिधिहरु गरी ६० जना बालबालिकाको सहभागीता रहेको संस्थाको परियोजना संयोजक रोजी गुरुङले जानकारी दिनुभयो ।
तालिमको समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले महिनावारीका समयमा गरिने भेदभावले गर्दा किशोरी र महिलाहरुको आत्मसम्मान, मर्यादा र समस्त मानव अधिकारमा आघात पुग्ने बताउनुभयो । महिनावारी बार्ने चलन पुर्खा देखि चल्दै आएको चलन भएपनी हाल केहि कमी भएको र यसको बिस्तारै अन्त्य हुने उहाले बताउनुभयो । उहाले तालिममा सिकेका विषयहरु समुदाय स्तरमा लागु गर्न सहभागीलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा महामाया भवानी मा.विका प्रधानाध्यापक ऋषिश्वर अर्याल, देवदह नगर अस्पतालको प्रमुख डा. संज्ञा शेन, प्रशिक्षार्थीको तर्फबाट सविना नेपाली, दिपक न्यौपाने र अस्मिता पतियारले लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो। तालिमको देवदह नगर अस्पतालको प्रमुख डा. संज्ञा शेनले सहजीकरण गर्नु भएको थियो। तालिममा महिनावारी स्वास्थ्य व्यवस्थापनका विषयमा बालबालिकालाई छलफल गराईएको थियो।कार्यक्रम संस्थाको अध्यक्ष केशमाया थापाको अध्यक्षता, संस्थाको व्यवस्थापक मेनुका न्यौपानेको स्वागत र सामाजिक परिचलक एलिना हमालको सञ्चालनमा सम्पन्न भएको थियो।