एजेन्सी ।
थाइल्यान्डले करिब एक करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले शुक्रबार बताएका छन् । उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवर्द्धन गर्नेछ । यस खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ तर यसलाई व्यावसायिकरूपमा कति दोहन गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।
सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग साइटको बीचमा एक करोड ४८ लाख टन लिथियम फैलिएको जानकारी दिए । लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने बेट्रीहरूको निर्माणमा प्रमुख घटक हो ।
अगस्टमा सत्ता सम्हालेपछि प्रधानमन्त्री श्रेथा थाभिसिनको सरकारले मुलुकको परम्परागत कारहरू एसेम्बल गर्ने इतिहासलाई अगाडि बढाउँदै थाइल्यान्डलाई विद्युतीय सवारीका लागि क्षेत्रीय उत्पादन केन्द्रका रूपमा बढाउने प्रयासलाई प्राथमिकता दिएको छ । डाभोसमा विश्व आर्थिक मञ्चको बैठकका क्रममा श्रेथाले बोशका उपाध्यक्षसहित उद्योग क्षेत्रका नेताहरूसँग भेट गरे र थाइल्यान्डमा विद्युतीय सवारी उत्पादनमा लगानी गर्न आग्रह गरे ।
सन् २०२३ डिसेम्बरमा दुई चिनियाँ दिग्गजले थाइल्यान्डलाई उत्पादन केन्द्रका रूपमा विकास गर्न दुई अर्ब ३० करोड भाट (छ करोड ४० लाख अमेरिकी डलर) लगानी गर्ने बताएका थिए ।