रुपन्देही ।
रुपन्देहीको देवदह नगरपालिकामा भएको अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ शिल्डको उपाधि देवदह माध्यमिक विद्यालयले प्राप्त गरेको छ ।
देवदह नगरपालिकाको आयोजना र देवदह मा.वि को व्यवस्थापनमा भएको शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि देवदहले जितेको हो ।
माघ १२ गतेदेखि देवदह मा.वि को प्राङ्गणमा सञ्चालित प्रतियोगितामा सबैभन्दा बढी १२ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित देवदह माध्यमिक विद्यालयले उपाधि प्राप्त गरेर पहिलो भएको हो ।
त्यसैगरी ३ स्वर्ण, ६ रजत र २ कास्य पदक प्राप्त गरेको सगरमाथा आवासिय माध्यमिक विद्यालय दोश्रो भएको छ भने ३ स्वर्ण, ५ रजत र ६ कास्य सहित केरवानी माध्यमिक विद्यालय तेस्रो भएको प्रतियोगिताका अफिसियल प्रमुख अमृत काफ्ले जानकारी दिनुभयो ।
उपाधि बिजेता विद्यालय र उत्कृष्ट भएका खेलाडी (विद्यार्थी)लाई कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । खेलमार्फत विद्यार्थीको क्षमता वृद्धि गर्न, उनीहरुलाई शारीरिकरुपमा तन्दुरुस्त बनाउन तथा आगामी दिनमा क्षमतावान खेलाडी उत्पादन गर्न यस प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने उहाले बताउनुभयो ।
कार्यक्रम देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षता, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत, प्रतियोगिता संयोजन गरेको देवदह मा.विका अध्यक्ष सुरज खरेलको धन्यवाद ज्ञापन र इन्दिरा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।