काठमाण्डौ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार हुने देशको अग्रस्थानमा रहेको तथ्य सार्वजनिक गरेको छ । उसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै कायम रहेको समेत औंल्याएको छ ।
अघिल्लो वर्ष नेपाल सयमा ३४ अंकमा थियो । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा मंगलबार जारी ‘भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)–२०२२’मा नेपालले सयमा ३५ अंक पाएर १०८औं स्थानमा रहेको छ ।
सुशासनमा ५० भन्दा कम अंक ल्याउने देशलाई ‘भ्रष्टाचारग्रस्त’ मानिएको छ । यस वर्ष औसत अंक ४३ रहेको र एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुईतिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको उल्लेख गरिएको छ ।