एजेन्सी ।
मृत भनिएकी पुनम पाण्डे जिउँदै छिन् । अभिनेत्रीले शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी हुन् । क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यो पब्लिसिटी स्टन्ट गरेको पुनमले बताइन् । अर्को भिडियो सेयर गर्दै पुनमले सबैसँग माफी पनि मागेकी छिन् ।
पुनमले भोलि अर्थात आइतबार बिहान १० बजे लाइभ आएर यो जानकारी दिन चाहन्थिन् तर उनको निधनको खबरले मानिसहरु आक्रोशित र अन्योलमा परेको देखेर उनले आज नै भिडियो शेयर गर्ने निर्णय गरेकी हुन् । स्रोतका अनुसार अभिनेत्री हाल लोनावलामा छिन् ।
यस भिडियोमा पुनमले भनिन्, ‘म जिउँदै छु । पाठेघरको मुखको क्यान्सरले गर्दा म मरेको होइन । दुर्भाग्यवश, पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाहरूको बारेमा पनि म यसो भन्न सक्दिन। म यहाँ के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरू क्यान्सरजस्तो होइन । यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नु र HPV खोप लिनु पर्छ। हामी यो सबै गर्न सक्छौँ ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस्।’