देवदह ।
रुपन्देहीको देवदहमा बाल विवाह, बाल हिंसा, कुलत, लागु पदार्थ, दुर्व्यसन सम्बन्धी बृहत सचेतना र्याली निकालिएको छ । देवदह नगरपालिका ५ को आयोजना र वडा बाल संजालको सह आयोजनामा उक्त सचेतना र्याली भएको हो। सचेतना र्यालीमा देवदह ५ मा रहेका विद्यालय, टोल विकास संस्था र आमा समूहको सहभागिता रहेको थियो ।
सचेतना र्याली देवदह ५ स्थित लोकेश्वर मन्दिरबाट सुरु भएर पानबारी खेल मैदानमा पुगि सभामा परिणत भएको थियो । सचेतना र्यालीमा बाल अधिकारको संरक्षण गरौं, बाल अधिकारको प्राप्तिको सुनिश्चितता गरौं, बाल मैत्रीस्थानिय शासन कायम गरौं, बाल विवाह गैर कानुनी हो, बच्चाहरु विद्यालयमा हुन्छन्, कार्यस्थलमा होईन लगाएतका प्ले कार्ड प्रदशन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका नगर शिक्षा अधिकारी टिकाराम शर्माले बाल हिंसाको न्यूनीकरण घरबाटै सुरुवात गनुपर्ने बताउनुभयो । वडा बाट सुरु भएको अभियान विभिन्न सूचकहरु पूरा गर्दै नगरपालिकालाई नै बालमैत्री पालिका बनाउने गरि लागिरहेको नगर शिक्षा अधिकारी शर्माको भनाई थियो ।
देवदह ५ का वडा अध्यक्ष एवं नगर प्रबक्ता गणेश डुम्रेले वडाका टोल-टोलमा बाल क्लब गठन, गोष्ठी, बाल प्रोफाइल तयार गरी वडालाई देवदह नगरपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गर्ने तयारी गरिरहेको बताउनुभयो । वडालाई फागुन २ गते बालमैत्री वडा घोषणा गर्ने तयारी रहेको र नगरपालिकालाई दुई वर्ष भित्र बालमैत्री पालिका घोषणा गर्ने गरि काम भैरहेको प्रबक्ता डुम्रेको भनाई थियो।
कार्यक्रममा र्यालीमा सहभागी हुने आमा समूह, टोल विकास संस्था, विद्यालयलाई सम्मान गर्नुका साथै प्रस्तुतिका आधारमा मूल्यांकन गरि पुरस्कृत समेत गरिएको थियो। आमा समूह तर्फ सहयात्री स्वास्थ्य आमा समूह प्रथम, मितेरी स्वास्थ्य आमा समूह द्वितीय, सङ्गम पाल्पाली र सिदार्थ कोलोनी आमा समूहले तृतीय स्थान प्राप्त गरेका थिए। त्यस्तै विद्यालय तर्फ मदर टङ्स एकेडेमी प्रथम, केरवानी मावी र देवदह बुद्द पब्लिक आवासीय मावी द्वितीय र न्यू लुम्बिनी बोर्डिङ स्कुलले तृतीय स्थान प्राप्त गरेका थिए।त्यस्तै टोल विकास संस्था तर्फ खैरेनी लोकेश्वर टोल विकास संस्था प्रथम र मितेरी गाउँ टोल विकास संस्था द्वितीयले द्वितीय स्थान प्राप्त गरेका थिए। कार्यक्रम वडा बाल संजालका अध्यक्ष सृजना गैरेको अध्यक्षता र बबिता भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।