देवदह ।
नेपाल स्काउट स्थानिय स्काउट परिषद देवदह नगरपालिकाको पहिलो बैठक सम्पन्न भएको छ। सोमबार देवदह नगरपालिका उप-प्रमुख तथा प्रमुख स्काउट विद्यालक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । स्थानीय स्काउटको देवदह परिषद सदस्यहरुमा विकास गहतराज, अर्जुन गौतम,ओमनारायण थारु, सुरज भट्टराई र दिल कुमार वि. क. निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत दिनेश कुमार वि.के. को अध्यक्षतामा सोमबार बसेको स्थानीय स्काउट देवदह परिषदको बैठकले परिषद सदस्य विकास गहतराजलाई देवदह नगरपालिकाको स्थानीय स्काउट कार्यकारी समितिको स्थानीय आयुक्त (संयोजक) मा नियुक्त गरेको हो।
गहतराज यस अघि स्थानीय स्काउटको देवदहको तदर्थ समितिको संयोजक रहेका थिए। सोमबार बसेको स्थानीय स्काउटको बैठकले ४ वर्षे कार्यकालको लागि गहतराजलाई नियुक्त गरेको हो।
१२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषदको निर्वाचन गर्ने तयारी अनुरुप बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय स्काउट तथा प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने निर्णय भएको थियो।
वि.सं.२०६८ मा निर्वाचन भएयता स्काउटमा निर्वाचन हुन सकेको छैन । वि.सं.२०७० मा तत्कालीन प्रमुख आयुक्तले राजीनामा दिएपछि, नेपाल स्काउट तदर्थ समितिका आधारमा चल्दै आएको छ । हाल नेपाल स्काउटको प्रमुख आयुक्तमा (संयोजक) मा लोक बहादुर भण्डारी रहेका छन् । भण्डारी २०७५ पुषमा प्रमुख आयुक्तमा नियुक्त भएका थिए ।