काठमाण्डौ ।
नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९÷०८०) अनुसार नेपालमा अझै पनि २०. २७ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि रहेको देखाएको छ ।
करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार मानिसहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरु अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ ।
प्रदेशगत रुपमा सबैभन्दा कम गरिबी गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा रहेको छ । सुदूरपश्चिम प्रदेशमा अहिले पनि करिब ३४ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि रहेका छन् ।