एजेन्सी ।
कृषिजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका भारतको पन्जाबका किसानहरू राजधानी नयाँ दिल्ली प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीसँग झडप भएको छ ।
किसान संगठनहरूले दिएको अल्टिमेटमभित्र माग सम्बोधन नभएपछि हजारौं किसानले नयाँदिल्ली प्रवेशको प्रयास गरेका हुन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निवास घेर्ने घोषणा गर्दै अघि बढेका उनीहरुलाई सुरक्षाकर्मीले पंजाब–हरियाणा जोड्ने शम्भु बर्डरमा रोकेको छ भने झडपपछि केही किसानहरुलाई नियन्त्रणमा लिइएको छ । सुरक्षाकर्मीले ड्रोनबाट समेत अश्रग्याँस प्रहार गर्दा दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् ।
किसानहरूले ‘दिल्ली चलो’ नारा दिएर आन्दोलनको सम्पूर्ण तयारीका साथ दिल्ली यात्रा थालेपछि सुरक्षाकर्मीले दिल्ली प्रवेशका राजमार्गहरूमा तारबार र सिमेन्टका बार राखेर रोकेका छन् ।
मोदी सरकारले सन् २०२० मा ल्याएको तीनवटा कृषि कानुनको विरोधमा किसानहरूले दुई वर्ष अघि पनि लामो आन्दोलन गरेका थिए । त्यसबेला पनि आन्दोलनकारी किसानहरूलाई दिल्ली प्रवेशमा रोक लगाइएको थियो । एक वर्षसम्म चलेको आन्दोलनको दबाबमा सरकारले तीनवटै कृषि कानुन फिर्ता लिन बाध्य भएको थियो ।