काठमाण्डाै ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँएको छ । २५औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को नारा “बहुभाषी शिक्षा अन्तरपुस्ताको शिक्षाको स्तम्भ हो” भन्ने रहेको छ। संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो ।
नेपालमा भने २०६६ सालदेखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो । दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएका छन् ।
सन् १९५२ मा बङ्लादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको सम्झनामा दिवस मनाउने गरिन्छ । त्यसबेला बङ्लादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । बङ्लादेशमा अहिले पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ ।