रुपन्देहीको देवदह नगरपालिकाले जनताको सहजताको लागि एकीकृत घुम्ती सेवा सुरु गरेको छ । देवदह नगरपालिकाको वडा नम्बर ११ मा भएको एकिकृत घुम्ती सेवा को एक समारोहबीच नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल र उप प्रमुख विद्या लक्ष्मी गुरुङले संयुक्त रुपमा सुभारम्भ गर्नु भएको हो ।
एकीकृत घुम्ती सेवामा पालिकाको ११ वटा शाखा बाट प्रदान गरिने सेवा एकीकृत घुम्ती सेवाबाट प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनु भयो । एकीकृत घुम्ती सेवामा आम नागरिकको सम्स्या बुझ्ने र नागरिकलाई सेवा प्रवाह गर्ने गरी कार्यक्रम अगाडि सारेको उहाले बताउनुभयो । सेवाबाट करिब ८०० जना लाभान्वित भएको जानकारी दिनुभयो । जसमध्य आँखा परिक्षण ५५ जनाले, कृषि सेवा ७२ जना, ल्याब १२५ जना, भेटनरी सेवा ९४ जना, जेष्ठ नागरिक ७० जना, आयुर्वेद ६१ जना, नक्सा परामर्श २५ जना, रोजगार शाखा २५ जना र १७१ जनाले स्वास्थ्य परिक्षण गरेको उहाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले नागरिकलाई सेवामा सहजता प्रदान गर्नका लागि शिविर सञ्चालन गरेको बताउनु भयो । उहाले एकीकृत घुम्ती शिविरले प्रशासन र नागरिकलाई जोड्ने काम गर्ने बताउनुभयो । यो पहिलो प्रयास भएको र आगामी दिनमा अन्य वडामा पनि सञ्चालन गरिने उहाले बताउनुभयो ।
देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत बाट सुरु भएको कार्यक्रममा देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा नं ११ को वडा अध्यक्ष दुधनाथ यादव लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
यसरी पालिकाबाट पाइने सेवाहरु गाउँघरमै गएपछि वडाका नागरीकहरु खुशी भएका थिए ।