चितवन ।
चितवनको भरतपुरमा बर्षौदेखी अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको उक्त टेन्डरमा ३० दिनको म्याद राखिएको छ ।
पहिलेको भन्दा थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर निकालिएको हो ।सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ र३ तलाको टावर बनाइने भएको छ ।
यसअघि रंगशाला सम्बन्धी नै कामकाज गरेको ५८ करोडभन्दा बढी टर्न ओभर गरेको अनुभवी ठेकेदार कम्पनी हुनुपर्ने मापदण्डमा राखिएको छ । यसअघि गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।