चितवन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भएको बताउनुभएको छ । भरतपुर मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अब एक महिनापछि निर्माणको काम सुरु हुने र साढे २ वर्षमा निर्माण सम्पन्न हुने उल्लेख गर्नुभयो।
उहाले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलोपटक गरेको भए पनि पूर्णरुपमा सफल भएको बताउनुभयो । महानगरपालिकाले क्रिकेट मात्र होइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उहाँको भनाइ थियो । प्रमुख दाहालले अब पुरुषको मात्र नभई महिलाको पनि यस्ता प्रतियोगिता हुने प्रष्ट पार्नुभयो ।
सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा खेलाउने इच्छा रहेको बताउनुभयो। नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गर्नुभयो ।