काठमाण्डौ ।
आज नेप्से १ सय १७ अङ्कले वृद्धि भई कारोबार बन्द भएको छ । तीन पटकसम्म सकारात्मक सर्किट लागेपछि शेयर बजारको कारोबार आजको लागि बन्द भएको छ । सत्ता गठबन्धन फेरिएको समाचारसँगै बिहान ११ बजे बजार खुलेर कारोबार शुरु भएको तीन मिनेटमै नेप्से ४ प्रतिशतले बढेर सर्किट लागेपछि २० मिनेटको लागि बन्द भएको थियो ।
दोस्रो पटक बजार खुल्दा थप एक प्रतिशतले बढेपछि कारोबार ४० मिनेटको लागि बन्द भयो । त्यसपछि खुलेको बजार थप एक प्रतिशतले बढेर समग्रमा ६ प्रतिशतले उकालो लागेसँगै आजको लागि बजार बन्द भएको हो ।
सर्किट लागेर बजार बन्द भएको दिन नेप्से आज १ सय १७ दशमलव ७० अङ्कले बढेर २ हजार ७८ विन्दुमा पुगेको छ । आज ९ लाख ३४ हजार कित्ता शेयर ३७ करोड ५२ लाख रुपैयाँमा कारोबार भएका छन् । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।