बुटवल ।
रुपन्देहीको देवदहमा किशोरीहरुका लागि ३ दिने सचेतना वृद्धि तथा आत्मरक्षा तालिम सुरु भएको छ । मंगलबार एक कार्यक्रमका बिच देवदह मा.वि को प्राङ्गणमा, देवदह नगरपालिका वडा नं ७ को आयोजना उक्त तालिम सुरु भएको हो । कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले तालिमपछि नगरमा महिला हिंसाका घटनामा कमी आउने बताउनुभयो । उहाँले तालिममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा पूर्ण रुपले व्यवहारमा उतार्न सहभागी किशोरीलाई सुझाव दिँदै नगरपालिकाले विभिन्न समयमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको बताउनुभयो ।
तालिममा ३ विद्यालय देवदह मा.वि, सगरमाथा आवासीय मा.वि र ग्रीन प्लान्ट आवासीय मा.वि का गरी करिब ५० जना किशोरीहरुको सहभागीता रहेको थियो । सहभागीलाई नेपाल मार्सल सेल्फ डिफेन्सका कोच द्वय हेमा खड्का र बिमला क्षेत्रीले आफूमाथी आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रम शिक्षक इन्दिरा अर्यालको स्वागत र एलिना हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।