एजेन्सी ।
इटलीको लक्जरी ब्रान्ड गुचीको बिक्री दोहोरो अंकले घटेको अनुमान गरिएको छ । एशियामा आर्थिक मन्दीका कारण यो वर्षको पहिलो त्रैमासमा गुचीको बिक्री २० प्रतिशतले घटेको हुन सक्ने अनुमान गुचीको मालिक कम्पनी केरिङले गरेको हो । केरिङको यो अनुमान प्रतिस्पर्धी कम्पनीहरू एलचीएमएच र हर्मिसको भन्दा उल्टो छ । यी दुई ब्रान्डको विक्री बढ्ने देखिन्छ ।
गएको दशकमा लक्जरी बजार बढेको थियो । तर हालैका वर्षमा विक्री खासै राम्रो देखिएको छैन । गुचीको कूलमध्ये एक तिहाइ बिक्री चीनमा हुने गरेको छ । तर चीनको अर्थतन्त्र पछिल्लो समय संघर्षरत् छ । कम्पनीको मुनाफा घट्ने चेतावनीले विशेषगरी एशिया–प्रशान्त क्षेत्रमा गुचीको बिक्री निकै घटेको देखाएको केरिङले एउटा विज्ञप्तिमा भनेको छ । कम्पनीले पहिलो त्रैमासको आर्थिक प्रतिवेदन अप्रिल २३ मा सार्वजनिक गर्दैछ ।
गएको वर्ष केरिङको सञ्चालन मुनाफामा गुचीको हिस्सा दुई तिहाइ थियो । गएको वर्ष केरिङको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले घटेको केरिङले गत महिना बताएको थियो । गएको एक वर्षमा कम्पनीको शेयर मूल्य पनि २३ प्रतिशतभन्दा धेरैले घटिसकेको छ । सन् २०२३ मा एलभीएमएचले अपेक्षाकृत धेरै विक्रीगरेको थियो । हर्मिसले गएको वर्ष अहिलेसम्मकै कीर्तिमानी विक्री गरेको थियो ।