काठमाण्डौ ।
भारतको बिहार राज्यको सुपौलमा कोसी नदीमाथि बनिरहेको पुलको हिस्सा खस्दा ८ जना घाइते भएका छन् । निर्माण पछि सो पुल भारतको सबैभन्दा ठुलो सडक पुल हुने बताइएको छ । शुक्रबार बिहान पुलको ५०, ५१ र ५२ नम्बरको पिल्लरको गार्टर जमीनमा खसेको समाचारमा जनाइएको छ ।
यस घटनामा एक जनाको मृत्युको पुष्टि पनि भएको छ । स्थानीयहरूले बताएअनुसार ४ जना अझै बेपत्ता भएका छन् । सुपौलको बकौरबाट मधुबनीको भेजा घाटबीच भारतको सबैभन्दा ठुलो सडक पुल निर्माण भइरहेको छ। घटनास्थल कोसी नदी किनारमा भएकोले पर्याप्त उपकरण पुर्याउन नसकिएको र राहत अनि बचाउ कार्यमा निकै अप्ठ्यारो भइरहेको बताइएको छ । यो पुल सन् २०२३ को अगस्टमा सम्पन्न भइसक्ने बताइएको थियो । तर म्याद सरेर यो वर्षको अन्त्यसम्म पुर्याइएको थियो । -एजेन्सी